बेड नं. ४११

✍️ ईश्वरचन्द्र बानियाँ
२०७९ सालअसार २२ गते दिनको १२ बजे म चिरायु अस्पताल वसुन्धारामा भर्ना भएँ । म बेड नं. ४१० मा छु । ४११ मा एक महिला खुट्टामापट्टी बाँधेर सुतिरहेकी छिन् । उनको छेउैमा एक जनापुरुष छटपटाइरहेका छन् । महिलाले पुरानो गुन्यु र चोलो लगाएकी छिन् । पुरुषले सर्ट र कट्टु लगाएका छन् । उनका टाउकामा थोत्रो टोपी र कम्मरमा मैलो पटुकी छ । त्यसमाथिकालो वेस्टकोट लगाएका छन् । भुइँमा एक जोर गमबुट र सँगै तुनावाला पुरानो चप्पल छ ।

भर्ना हुँदा म कुनै बिरामी होइनँ । बरु बिरामी बन्न आएको हुँ भन्दा हुन्छ । कलेज जीवनदेखि नै धेरै पिसाब लाग्थ्यो । त्यसको उपचार कतै भएन । ४/५ वर्ष पहिले टिचिङ अस्पताल महाराजगञ्जमा देखाउँदा त्यसको उपचार भेटिएन बरू अन्य तीनवटा रोग देखा परे । गाउँतिर धामीले वायु बोलाउँदा २/४ वटा बिर बोले जस्तो । ती तीनमध्ये एक थियो पित्त थैलीको पत्थर ।

त्यो सानो र नदुखेका कारणले वास्ता गरिएन । फेरि कुनै डाक्टरले फालिहाल्नुस् भन्ने कुनैले नदुखेको भएहतार नर्गनुस् भन्ने भएकाले पनि पालिराखेँ । द्ई वर्ष पहिले पुनः टिचिङमा जचाउँदा ८ महिना पछिको समय पाइयो अप्रेसन गर्न । गरिएन । यस वर्ष पाटन अस्पतालमा देखाउँदा भाद्र ३ गतेको समय मिलेको थियो । छोराबुहारीहरू जम्मा भएकाले छिटै फालौँ भन्ने सल्लाह भएनुसार प्राइभेट अस्पतालमा भर्ना भइयो ।

म निजी अस्पताल र निजी विद्यालयको विरोधी हुँ । म जस्तै धेरै विरोधी साथीहरू सगौरव त्यसैमा लागेका र सरकारले तिनकै पृष्ठपोषण गरिरहेकोले विरोधको अर्थ देखिएन, कम्तीमा अहिलेको अवस्थामा । बेड नं. ४११ मा पल्टिरहेकी बिरामी र गमबुट लगाएर ड्याप ड्याप गर्दै कहिले यताउता गर्ने र कहिले झोक्राएर बस्ने उनका कुरुवाले मेरो ध्यान खिचिरहेका थिए । म सानै हुँदा गाउँमा सुन्थेँ-परिवारमा अरू बिरामी हुनुभन्दा आफू बिरामी हुनु जाती । यो साँचो रहेछ भन्ने कुरा ती कुरुवाले प्रष्ट पारिदिएको थिए ।

यसरी हातखुट्टा भाँचिएका बिरामीलाई हामी सिधै राष्ट्रिय ट्रमा सेन्टरमै जान सल्लाह दिन्छौँ । जहाँ बढीमा ४०/५० हजारमा पाता राखिन्छ भने २०/३० हजारभन्दा कमैमा पाता निकालिन्छ । आर्थिक विपन्न बिरामीहरूका लागि सित्तैमा वा सानो खर्चमा उपचार हुनसक्छ ।

‘दिलोज्यानले मानव समुदायको सेवा गरौँ’ यो एक परोपकारी संस्था ‘हेड्स नेपाल’ (Health, Education, Agriculture and Development Society) को पवित्र नारा हो । २९ वर्ष पुरानो यस संस्थाले पाँचवटै विषयमा अभाव, आकस्मिकता र आवश्यकताको साथी बन्ने कोसिस गर्छ । म त्यसको अध्यक्ष भएको हुनाले पनि यस्ता बिरामी देख्दा चासो बढ्नु स्वाभाविकै थियो । हेर्दैमा ज्यादै विपन्न देखिने तर सरकारी अस्पतालमा सजिलैसँग उपचार हुनसक्ने यस्तो बिरामी कसरी महँगो अस्पतालमा आइपुगे होलान् ? भन्ने कौतुहल मनमा उब्जियो ।

दिनको ४ बजेतिर हेड्स नेपालका वरिष्ठ उपाध्यक्ष प्रतापराज वन्त र स्वास्थ्य विभाग प्रमुख दुर्गा मानन्धर वन्त मलाई भेट्न आइपुग्नुभयो । सोही समयमा तिनै बेड नं. ४११ का कुरुवाले सानो टुक्रा कागज मलाई दिँदै भने यो फोन गरिदिनुस्न । गोरखामा उनको आफन्तको मोबाइल नम्बर रहेछ त्यो । फोन भएपछि उनी झन आत्तिए । बाँदरले बारीमा लगाएको मकै सबै खाइदियो रे । अब वर्षभरि के खाने ? यसलाई बँचाएर लगेर मैले के खुवाएर पाल्ने ? झन् ठूलो चिन्ता थपियो । अब हामीले उनका बारेमा राम्ररी बुझ्न चाहृयौँ । उनीहरू गोरखाको अति दुर्गम चुननुब्री गाउँपालिका सिर्दिबासबाट आएका रहेछन् । एक वर्षअगाडि भीरबाट लडेर उनीकी श्रीमतीको खुट्टो भाँचिएछ । उपचारका क्रममा उनीहरू काठमाडौँ आइपुगेछन् ।

एकजना बहिनीमार्फत यो अस्पतालमा भर्ना भई खुट्टामा स्टिल पाता राखेर गएका र हाल सो पाता झिक्न आएका रहेछन् । उनीहरू एक हप्ता भएछ भर्ना भएका । पाता पनि निकालिसकिएछ । अब घरजान हतार गर्दै थिए तर घाउ पाकेकाले अस्पतालले जान नदिएको रहेछ । एकातर्फ पैसा सकिएको अर्काेतर्फ वर्षभरि खाने मकै बाँदरले खाएकाले उनीहरू ज्यादै चिन्तित थिए । अस्पतालले पैसा नभए क्यान्टिनमा खानु पैसा तिर्नु पर्दैन भनेको रहेछ । त्यो सुन्दा अस्पताल प्रशासनप्रति खुशी लाग्यो तर त्यो खुशी धेरै बेर रहन पाएन । कुरा गर्दै जाँदा थाहा भयो उनीहरूको ५० हजार सकिसकेको रहेछ । अब बाटाखर्च पनि बाँकी रहेनछ । पाता झिक्न त त्यति खर्च लाग्यो भने राख्न कति खर्च लाग्यो त ? साढे दुई लाख उनले भने । आधा ऋण अझै तिर्न सकेको छैन ।

बीस वर्षीय र सोह्र वर्षीय दुई छोरी थिए । चार वर्ष पहिले जिल्ला सदरमुकाम घुम्न आएका घर फर्किएनन् । बुढा बाआमालाई छोडेर पोइला गए होलान्, उनी भन्छन् तर मलाई लाग्छ मानव तस्करको फेला परे होलान् । नत्र चार वर्षसम्म एउटाको त केही खबर आउनुपर्ने होइन र ? एउटा छोरो थियो ६ वर्षको उमेरमा खस्यो । ५/६ वर्ष भइसक्यो । अब बुढाबुढीमात्र हो घरमा, घर फर्कन पनि मन लाग्दैन तर कहाँ जाने ? जाने ठाउँ कहीँ छैन ।

हामीलाई १० मिनेट पनि लागेन उनीहरूको दुःखद् गाथा सुन्न । अब उनी बोल्न नसक्ने जस्तो भएका थिए । म पनि उनको बोली सुन्न नसक्ने जस्तो भएको थिएँ । तीन घण्टामा हेरिने मार्मिक फिल्मभन्दा दर्दनाक कहानी थियोे । त्यसैले पो उनी कहिले खाली खुट्टा, कहिले गमबुट लगाएर पागल झैँ हिँड्ने, कहिले झोक्राएर बस्ने, कहिले बुढाबुढी गुरुङ भाषामा रिसाएर कुरा गर्ने गर्दा रहेछन् । वरिपरिका मान्छेहरू भन्थे-तिमीलाई बुढीको भन्दा मकैको माया बढी भयो ? उनी भन्थे-के गरूँ ? बुढीको माया गरेरमात्र वर्षभरि के खाने ?

मेरो अप्रेसन थिएटरमा जाने बेला भइसकेको थियो । लिन आएपछि म त्यसतर्फ लागेँ । आधा घण्टा जति बाहिरी कोठामा राखेर मलाई भित्र लगे । अगाडि २ वटा कोठा देखिए । ठरूलो कोठाको बीच भागमा एक जना बिरामी लुगा ओडाएर सुताइराखेको रहेछ । सायद अप्रेसनपछि होसमा ल्याउन राखिएको जस्तो लाग्यो । त्यहाँ अरू कोही थिएनन् । मलाई त्यो मान्छे निर्जीव जस्तो लाग्यो । होस फर्किएन भने निर्जीव नै त हो नि । ऊ वा म जो पनि ।

मलाई सानो कोठापट्टि लगे बीच भागमा अप्रेसन टेबल जस्तै थियो । मलाई त्यहाँ सुताइयो । टाउकामाथि छाता जस्तोमा बत्तीको व्यवस्था गरिएको होला । ५/६ जनाले घेरेर के के गर्दै थिए, बेहोस् पार्ने बारे कुरा गर्दै थिए । अप्रेसनको समयमा कारणवस म मरेँ भने पनि उजुरी गर्ने छैन भनेर औँठाछाप लगाइदिएको थिएँ । त्यसैले उनीहरू खुशीसाथ हाँस्दै काम गरिरहेका थिए । ठाउँठाउँमा इन्जेक्सन दिए । नाकमा हेडफोन जस्तो लगाए । सायद म बेहोस भएँ । मैले जान्दा होसमा आएँछु, त्यस बेला म पोष्ट अप्ररेटिभ बेडमा थिएँ । पेटमा केही दर्द भएको थियो । जीउतिर केही लन्द्य्राङलुन्द्रुङ पाइपहरू थिए । केहीबेरमा श्रीमती, छोरा, बुहारीहरू आए । चारवटा प्वाल पारेर १३ मिमीको सानो पत्थर झिकेछन् ।

बिहान ९ बजेतिर डाक्टरहरू आएर हेरे तपाईं फ्रेस देखिनुहुन्छ त्यसैले अब बेडमा जान सक्नुहुन्छ । प्रेसर, सुगर कन्ट्रोलमा भयो भने बेलुका घर गए पनि हुन्छ भने । म १० बजेतिर बेडमा फर्किएँ । बेड नं. ४११ मा ती बहिनी त्यसरी नै पल्टिरहेकी थिइन् । मलाई मेरो घाउले भन्दा उनको घाउले पीडा दिइएको थियो । अझ उनको श्रीमान्को भित्री घाउले मलाई समेत छट्पटी बनाएको थियो ।

म एक स्वयंसेवक भनाउँदो । परोपकारी, समाजसेवी संस्था हेड्स नेपालको अध्यक्ष । जुन संस्थाले हरेक दिन जस्तै बिरामीलाई कुनै न कुनै रूपमा सहयोग गरिरहेको हुन्छ । बिरामीका थरी थरीका प्रश्न हुन्छन् । कुन अस्पताल राम्रो कुन डाक्टर राम्रो कहाँ छिटो उपचार हुन्छ, कहाँ सस्तो हुन्छ, कहाँ बिरामीको विशेष ख्याल गरिन्छ, कहाँ तपाईंहरूले भनेको लाग्छ जस्ता प्रश्नहरू आइरहन्छन् । कसैलाई रगत चाहिन्छ, कसैलाई आर्थिक सहयोग चाहिन्छ, कसैलाई भनसुन चाहिन्छ थरि थरि समस्या हुन्छन् । त्यस्ता समस्याहरूको सक्दो समाधान गर्ने हाम्रो काम हो ।

यसरी हातखुट्टा भाँचिएका बिरामीलाई हामी सिधै राष्ट्रिय ट्रमा सेन्टरमै जान सल्लाह दिन्छौँ । जहाँ बढीमा ४०÷५० हजारमा पाता राखिन्छ भने २०/३० हजारभन्दा कमैमा पाता निकालिन्छ । यस्ता आर्थिक विपन्न बिरामीका लागि सित्तैमा वा सानो खर्चमा उपचार हुन सक्छ । तर, आज मसँगैको बेडमा त्यस्तै बिरामी तीन लाख ऋणमा डुबेर छट्पटाइरहेका छन् । त्यो देखेर म कसरी शान्त रहुँ ?

अब सबै कुरा सकिसकेको थियो । भोलिपर्सि घर जाने कुरा भएको थियो । अस्पताल खर्च धरौटीमा गइसकेको थियो । आरुघाट-सोतीसम्म पुग्ने बसभाडा, त्यहाँबाट दुई दिन हिँड्ने या बिरामीलाई बोकाउने खर्च र खाना, खाजा खर्च भए घर पुग्नेवाला थिए उनीहरू । मैले सोधेँ- केही सहयोग चाहिन्छ कि ? उनी हात जोडेर केही नबोली बसे । मौनं सम्मति लक्षणम् भन्ने मैले बुझिहालेँ । हेड्स नेपाल बागमती प्रदेश समितिका अध्यक्ष पूर्वएसपी गणेशबहादुर संग्रौला पनि आइपुग्नु भएको थियो । हामीले सल्लाह गर्‍यौँ । उनीहरूको विवरण लियौँ ।

बिरामी : लक्ष्मी गुरुङ, ५५ वर्ष
श्रीमान् : लालबहादुर गुरुङ, ५५ वर्ष
ठेगाना : चुननुब्री गाउँपालिका वडा नं-५, बाङसिङ, गोरखा ।

यो सूचनाको युग हो । जोसँग बढी सूचना छ ऊ नै सम्पन्न हुन्छ । स्वास्थ्य क्षेत्रमा सरकारले विपन्न जनताका लागि भनेर धेरै नै सहुलियतपूर्ण योजनाहरू ल्याएको छ तर धेरैलाई यसको जानकारी हुँदैन । अरू त के हामी जस्ता सामाजिक कार्यकर्तामध्ये नै धेरै कमलाई मात्र यस बारे थाहा हुन्छ । बुझेका व्यक्ति पनि त्यस्ता कुरा बुझ्न र सम्बन्धित व्यक्तिलाई बुझाउनतिर भन्दा सरकारको विरोध गर्नमै आनन्द मान्छन् । विडम्बना नै भन्नुपर्छ ।

त्यसैले ती विषयमा थोरै भए पनि जानकारी दिन राम्रो होला भनेर त्यहाँ हुनु भएका १५/२० जना बिरामी कुरुवा र स्वास्थ्यकर्मीलाई सम्बोधन गरेर ती कुराबारे, हेड्स नेपालबारे र ती बिरामीबारे जानकारी दिँदै बिरामीलाई सानो सहयोग रकम प्रदान गरियो । बिचरी ती बिरामीलाई हर्ष र विष्मात भने जस्तो केही परिवर्तन देखिएन तर लालबहादुरका चेहेरामा खुसी छाएको प्रष्ट देखियो । लक्ष्मीको घाउ छिटो निको होस् । शुभकामना !

ट्याक्सी ड्राइभरले बसपार्कबाट जबर्जस्ती टुरिस्ट उठाएर होटेल पुर्‍याएकै शैलीमा प्राइभेट अस्पतालमा बिरामी पुर्‍याइन्छ भन्ने पनि सुनिन्छ । प्राइभेट अस्पतालको मनोमानी उपचार खर्चबारे सरकारलाई थाहा नभएको अवश्य होइन तर यस्ता विषयहरूमा अनुगमन खोइ ? कारबाही खोइ ?

म साँझ घर फर्किएँ । मलाई मेरो घाउले भन्दा लालबहादुरको मुटुको घाउले बढी दुखिरहेको थियो । म त्रिभुवन विश्वविद्यालयबाट अवकाश प्राप्त शिक्षक । टिचिङ अस्पताल महाराजगञ्जलाई म आफ्नो अस्पताल ठान्छु । त्यहाँका डाक्टरहरूको विज्ञता, क्षमतामा मलाई गर्व लाग्छ । सरकारी अस्पतालका ल्याब इक्युमेन्टहरू धेरै राम्रा छन्, तर मर्मतसम्भारको कमी छ । सरकारी अस्पतालका विज्ञ डाक्टरहरूको नामबाटै प्राइभेट अस्पतालहरू चलेका हुन् । तापनि म जस्ता व्यक्तिहरू किन प्राइभेट अस्पताल जान्छौँ ? त्यस्तै गरी लक्ष्मी जस्ता विपन्न व्यक्ति पनि किन महँगा अस्पताल जान्छन् ? यसको कारण केलाउनु जरुरी छ । कुनै एक वा दुई कारणले यो भइरहेको छैन ।

यसका विभिन्न कारण छन् । सबैभन्दा पहिलो कुरो त स्थानीय वा जिल्लास्तरमा राम्रो अस्पताल नहुनु हो । यदि सरकारले जिल्ला अस्पतालको क्षमता वृद्धि गरिदिन सके काठमाडौं आउने धेरै बिरामी रोकिन्छन् । दश काम छोडेर साहुको ऋणको भारी बोकेर एम्बुलेन्समा बिरामी राखेर राजधानी आउनु नपर्ने व्यवस्था हुनसके जनताको आधा रोग निको हुन्छ । सरकारी अस्पतालहरूको सीमित स्रोतसाधनले असीमित बिरामी थेग्न नसक्नु अर्काे समस्या हो । अस्पतालमा पालो कुर्दैमा बिरामी सिकिस्त भइसक्छ अनि बाध्य भएर प्राइभेट अस्पताल जानुपर्‍यो । ठूला सरकारी अस्पतालका अधिकांश कर्मचारी चिनजानका बिरामी पछि लगाएर कोठा कोठा चाहारेर जागिर पकाइरहेका हुन्छन् । त्यो एकदिन होइन, दुईदिन होइन सधैँ हो । अनि सर्वसाधारण बिरामीले कहिले पालो पाउने ?

सर्वसाधारणमा स्वास्थ्य सूचनाको त्यतिकै अभाव छ । कस्तो बिरामी कुन अस्पताल जान उचित ? सोही समस्याका लागि सरकारी र प्राइभेट अस्पतालमा कति रकमको फरक पर्छ ? कुन-कुन रोगका लागि कुन-कुन अस्पतालमा के कस्तो सहुलियत प्राप्त छ जस्ता विषयमा कमैलाई थाहा हुन्छ । ट्याक्सी ड्राइभरले बसपार्कबाट जबर्जस्ती टुरिस्ट उठाएर होटेल पुर्‍याएकै शैलीमा प्राइभेट अस्पतालमा बिरामी पुर्‍याइन्छ भन्ने पनि सुनिन्छ । प्राइभेट अस्पतालको मनोमानी उपचार खर्चबारे सरकारलाई थाहा नभएको अवश्य होइन तर यस्ता विषयमा अनुगमन खोइ ? कारबाही खोइ ? सुधारका कदम के भएका छन् ? जानकारी खोइ ? स्वास्थ्यमन्त्रालयले यी विषयहरूमा ध्यान नदिने हो भने हामी नेपालीहरूको काम उमेरले र स्वास्थ्यले धानुन्जेल कमाउने, अन्तमा कमाएको सबै अस्पताललाई बुझाउने र स्वर्ग जानेबाहेक अरू विकल्प देखिँदैन । के सधैँ यही नियति भोग्नुपर्ने हो त ? – icbaniya55@gmail.com

(हेड्स नेपालका वर्तमान अध्यक्ष बानियाँ पोखरा विश्वविद्यालयका पूर्वडिन तथा पूर्वाञ्चल विश्वविद्यालयका पूर्वनिमित्त नियन्त्रक हुनुहुन्छ ।)