विराटनगर-वथनाह मालवाहक रेल सञ्चालन तयारी

विराटनगर । भारतको वथनाहबाट मोरङको विराटनगरसम्म निर्माणको अन्तिम चरणमा पुगेको मालवाहक रेल्वे छिटो सञ्चालनमा ल्याउन उद्योगी व्यवसायीले माग गरेका छन् । सो सम्बन्धमा आइतबार उद्योग संगठन मोरङमा भएको बैठकमा भारतीय रेल्वे कटिहार डिभिजनका डिभिजनल मेनेजर एसके चौधरीले विराटनगरदेखि कार्गो रेल्वे अविलम्ब सञ्चालनमा ल्याउने जानकारी दिनुभएको छ ।

उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेलले मिरगञ्ज पुलमा आएको अवरोधका कारण मालवाहक सवारीका साधन रिरुट गरी ल्याउँदा उद्योगीलाई थप आर्थिक व्ययभार परिरहेको अवस्थामा मालवाहक रेल्वे सञ्चालनले राहत हुने बताउनुभयो । सो क्षेत्रबाट भइरहेको दुई देशबीचको व्यापार अभिवृद्धिमा रेल्वे परियोजना कोशेढुंगा सावित हुने भन्दै उहाँले स-साना अवरोध अविलम्व समाधान गरी मालवाहक रेल्वे सञ्चालनमा ल्याउन भारत र नेपाल पक्षका अधिकारीलाई आग्रह गर्नुभयो । भारतीय रेल्वे डिभिजनल मेनेजर एसके चौधरीले १८.६ किलोमिटर लम्बाइ भएको वथनाह विराटनगर रेल्वेको काम अन्तिम चरणमा पुगेको भन्दै दुई देशबीच प्राविधिक र प्रशासनिक प्रक्रिया पूरा भएकोले १० देखि १५ दिनमा कार्गो रेल सञ्चालनमा ल्याउन सकिने जानकारी गराउनुभयो । जोगवनीमा रेल्वे रिपेयरिङ सेन्टर निर्माणका लागि भारतीय रेल्वे मन्त्रालयसमक्ष आवश्यक बजेटका लागि अनुरोध गरिएको जानकारी दिँदै उहाँले उक्त सेन्टर निर्माणपछि अन्य स्थानका लागि नयाँ प्यासेन्जर रेल थपिने पनि बताउनुभयो ।

विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले दुई देशीय व्यापार विस्तारका लागि महवपूर्ण कार्गो रेल सञ्चालनमा ल्याउन महानगरपालिकातर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्दै नेपाल सरकारतर्फबाट गर्नुपर्ने प्राविधिक र प्रशासनिक प्रक्रिया पूरा गर्न प्रधानमन्त्रीसमक्ष पहल गर्ने बताउनुभयो ।

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले निर्माणका क्रममा देखिएका समस्या समाधानमा मोरङ प्रशासनतर्फबाट पूर्ण सहयोग रहने बताउनुभयो । विराटनगर भन्सारका प्रमुख अधिकृत ताराप्रसाद सापकोटाले मिरगञ्ज पुलका कारण आयात निर्यातमा समस्या आउँदा राजस्व संकलनसमेत प्रभावित भएको भन्दै कार्गो रेल सञ्चालनमा ल्याउन भन्सारको सहयोग रहने बताउनुभयो । नेपालको रेल विभागका इञ्जिनियर रोशन कुमार देवले दुवै देशका प्राविधिक टोलीले निर्माणाधिन परियोजनाको प्राविधिक पक्ष परीक्षण गरी अन्य प्रशासनिक प्रक्रिा पूरा गरेपछि विराटनगर वथनाह रेल सञ्चालनमा आउने जानकारी गराउनुभयो । संगठनका वरिष्ठ उपाध्यक्ष प्रदीप मुरारकाले सो क्षेत्रका इडिवल आयल उत्पादन गर्ने उद्योगका कच्चा पदार्थ स्टोर गर्न आफ्नै खर्चमा ट्यांक निर्माण गर्न तयार रहेको जानकारी गराउँदै त्यसका लागि सहजीकरण गरिदिन डिभिजनल रेल्वे मेनेजरको ध्यानाकर्षण गराउनुभयो ।

संगठनका पूर्व-अध्यक्ष किशोर प्रधान र अशोक मुरारकाले जोगवनी रेल्वे यार्डमा पानी जम्नुका साथै नेपालको मालसमान रातमा अनलोड गर्न समस्या भइरहेको बताउनुभयो । कार्यक्रममा पूर्व उपाध्यक्ष एव उद्योगी राकेश सुराना उपाध्यक्ष नन्दकिशोर राठी, सदस्य पारस लुनिया लगायतको पनि सहभागिता रहेको उद्योग संगठन मोरङले जनाएको छ ।