भाषा विवादमा ‘एमिकस क्युरी’ मगाउन सर्वोच्चको आदेश

शब्दकोशबाट ॐ शब्द हटाउन नमिल्ने जिकिर

यज्ञराज पाण्डे
यज्ञराज पाण्डे
Read Time = 12 mins

काठमाडौं । सर्वोच्च अदालतले नेपाली शब्दकोशबाट ॐ शब्द हटाउने निर्णयविरुद्ध दायर भएको रिटमा एमिकस क्युरी मगाएको छ । परम्परागत नेपाली वर्णविन्यासको अस्तित्व मेटिने गरी तयार पारिएको नयाँ निर्णय खारेजको माग गर्दै सर्वोच्च अदालतमा दायर भएको रिटमा बिहीबार ‘एमिकस क्युरी’ मगाउने आदेश गरेको हो । सर्वोच्चले यसको व्याख्याका लागि सहयोग आवश्यक देखिएको भन्दै भाषा र कानुनी दक्षता भएको व्यक्ति समावेश गरी एमिकस क्युरी पठाउन नेपाल बारको नाममा आदेश गरेको हो ।

नेपाली शब्दकोशबाट ॐ सहितका शब्द हटाउने गरी सरकारले गरेको निर्णयविरुद्ध २४ भदौ ०७३ मा अधिवक्ता स्वागत नेपाल समेतले रिट दायर गर्नुभएको थियो । रिट अग्राधिकार जारी भए पनि सात वर्षपछि ‘एमिकस क्युरी’ मगाइएको हो । जसमा नेपाल बारबाट २ जना र सर्वोच्च बारबाट दुईजना गरी चारजना भाषाका ज्ञाता रहेका कानुनविद्हरू रहनेछन् । न्यायाधीशद्वय कुमार चुडाल र विनोद शर्माको संयुक्त इजलासले बिहीबार ‘एमिकस क्युरी’ मगाउने आदेश गरेको हो । नेपाली भाषा, संस्कृति, परम्परा अन्त्य गर्न विदेशी षड्यन्त्रबाट उक्त शब्द झिकिएको दाबीसहित रिट दायर गरिएको थियो । उक्त रिटमा कम्तीमा तीन जना ‘एमिकस क्युरी’ पठाउन सर्वोच्चले भनेको हो । रिटमा संविधानको धारा ७ को उपधारा ३, धारा ३१ तथा धारा ३२ को उपधारा ३ बमोजिम उत्प्रेषण माग गर्दे रिट दायर गरिएको थियो । रिट जारी भएपछि तत्कालीन शब्दकोश कार्यान्वयन नगर्न आन्तरिक आदेशसमेत जारी भई रिट सुनुवाइकै क्रममा रहेको थियो ।

अब सर्वोच्चको आदेशपछि बारले एमिकस क्युरीमा रहने व्यक्तिहरूको नाम पठाउनेछ । एमिकस क्युरीमा संवैधानिक ज्ञान र विषय विज्ञहरूलाई मनोनीत गरेर पठाउने चलन रहेको छ ।

के हो ‘ॐ’को विवाद ?
०६९ साल साउन २२ गते तत्कालीन शिक्षामन्त्री दीनानाथ शर्माले मन्त्रीस्तरीय बैठकबाट परिमार्जित वर्णविन्यास लागू गर्न निर्णय गर्नुभएको थियो । पाठ्यक्रम विकास केन्द्रको प्रस्तावमा शिक्षा मन्त्रालयले सो निर्णय सदर गरेको थियो । अधिवक्ता नेपाल सहितले परिमार्जित पाठ्यक्रम लागू हुँदा अहिले विद्यालयहरूमा पठनपाठनमा समस्या भएको भन्दै अदालतमा रिट दायर गर्नुभएको थियो । नयाँ निर्णयअनुसार तयार पारिएको व्याकरण पुस्तिका, पाठ्यक्रम र उच्च माध्यमिक शिक्षा परिषद् र त्रिभुवन विश्वविद्यालयले तयार पार्न लागेको नयाँ पाठ्यक्रम लागू हुन नहुने पनि निवेदकद्वयले जोड दिएका थिए । प्रचलित भाषा र व्याकरण दुरुस्तै अवस्थामा फर्काई भाषासम्बन्धी आयोग गठन गरेर मात्र नयाँ वर्णविन्यास लागू गर्नुपर्ने रिटमा उल्लेख गरिएको छ ।

रिटमा उल्लेख गरेअनुसार पूर्ववत् रूपमा भाषाको विकासका क्रममा शुद्ध मानिँदै आइएको र सोहीअनुसार सरकारी प्रकाशन बृहत् नेपाली शब्दकोशले समेत मान्यता दिएका शब्दहरूलाई हाल अशुद्ध मानी सो निर्णयबमोजिम हालैको सबैभन्दा पछिल्लो कक्षा सातको अनिवार्य नेपाली विषयको पुस्तक नेपाली कक्षा ७ को पाठ्यपुस्तकको पाठ १ को परिचय शीर्षकको कविताका कवि सिद्धिचरण श्रेष्ठको नाम पुरानोलाई अशुद्ध मानी नयाँ शुद्ध भनी ‘सिद्धिचरण’ बनाई प्रकाशित गरिएको थियो । त्यसैगरी, पाठ ५ को पृष्ठ संख्या ३६ र ३७ मा झमककुमारी घिमिरेको मदन पुरस्कार प्राप्त पुस्तक ‘जीवन काँडा कि फूल’ लाई ‘फूल’ को स्थानमा ‘फुल’ बनाइएको छ भने ‘काँडैकाँडाको बीचमा फुलेकी एक सुन्दर फुल’ भनिएको छ । जसको अर्थ स्थापित शब्दकोश अनुसार झमक कुमारी कुखुरीको फुल भन्ने हुन्छ । त्यसैगरी, पृष्ठ ३९ मा ‘सिद्धार्थ’ लाई सिद्धार्थ बनाइएको थियो भने ‘बौद्धिक’ लाई बौद्धिक बनाइएको थियो ।

यी उदाहरणहरू जस्तै पछिल्लोपटक केही समय अघि मात्र चालु शैक्षिक सत्रका लागि प्रकाशित सबै अनिवार्य नेपाली पाठ्यपुस्तकमा यस्तै प्रकारका स्थापित नियमलाई अशुद्ध मानेर प्रकाशित गरिएको छ भने बाँकी कक्षा १० को सोहीबमोजिम हालसम्म प्रयोगमा रहेको र मान्यताप्राप्त सुस्थापित व्याकरण तथा वर्ण विन्यासको नियमलाई खारेज गरेको एकपक्षीय निर्णयका आधारमा वर्ण विन्यासको शैली र व्याकरण प्रयोग गरी विपक्षीहरूले प्रकाशित गर्ने योजनामा रहेका छन् । रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, शिक्षा मन्त्रालय, पाठ्यक्रम विकास केन्द्र सानोठिमी, भक्तपुर, नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीलाई विपक्षी बनाइएको छ ।

संस्कृत भाषाले नेपाली सभ्यता बोकेको रिट दायरकर्ताको जिकिर
रिटमा संस्कृति (सम्+स्+कृ+ति) ले मानव-समाजलाई सभ्य र अनुशासित हुन प्रेरित गरेको छ । रिटमा उल्लेख छ, ‘भाषा मानवीय सम्पत्ति हो । यसैगरी, संस्कृति पनि मानवीय सम्पत्ति हो । संस्कृत भाषा र संस्कृतिका बीचमा अन्योन्याश्रित सम्बन्ध छ । संस्कृत लिच्छविकालीन नेपालको राजभाषा थियो । यसकारण संस्कृत नेपालको आफ्नै भाषा हो । नेपाली भाषा संस्कृतबाटै बनेको यथार्थ सर्वस्वीकार्य भएको सन्दर्भमा शब्दनिर्माण-प्रक्रियाका अधिकांश विधानहरू संस्कृतसँग मिल्दाजुल्दा देखिन्छन् । नेपाली भाषाको लिपिचिह्न, सन्धिनियम, शब्दब्युत्पादन र पदयोग-पदवियोग जस्ता कुरामा संस्कृतको प्रभाव स्पष्टतः देखिन्छ । उच्चारण विधिमा पनि संस्कृत भाषा र नेपाली भाषामा प्रायः समानता छ । नेपाली भाषाको सोझो साइनो संस्कृतसँग जोडिएको छ ।’

नेपाली भाषा लेख्दा प्रयोग गरिने वर्ण विन्यासको प्रयोग समयक्रमसँगै अझै सरलीकृत हुँदै गएको र यसलाई सबैले पछ्याउँदैसमेत आएको रिटमा जिकिर गरिएको छ । रिटमा उल्लेख छ, ‘जस्तै हामीले अहिले लेख्दै आएका वर्ण अ, झ, ण पहिले अर्कै शैलीमा लेखिन्थे । भाषा जति सहज र सरल बन्दै जान्छ त्यसलाई प्रयोग गर्नेहरूको संख्या पनि बढ्दै जान्छ । हिजो लिच्छविकालीन समयमा बोलिने भाषा, त्यसपछि मल्लकालमा र शाहकालमा बोलिने भाषाको संस्कृतबाट रूपान्तरित हुँदै सिंजाबाट नेपाली भाषाको विकास हुँदै अहिले नेपाली भाषा नेपालमा सबैभन्दा बढी बोलिने भाषाको विकाससम्म आइपुग्दा भाषाको बोल्य (वाच्य) पक्ष र लेख्य पक्षको अहिले सम्मको वास्तविक स्थिति के हो भन्ने बुझ्न सकिन्छ भन्ने उल्लेख गरिएको छ । साथै सो रिटमा संयुक्त प्रक्रियागत निर्णयबाट राष्ट्रिय विभूति तथा सम्माननीय राष्ट्रपतिज्यूको शुभनाम नै अशुद्ध हुने गरी राष्ट्रपति विद्यादेवी भण्डारी हुनुपर्नेमा राष्ट्रपति विद्या देवी भन्डारी र गौतम बुद्धलाई गउतम बुद्ध लेख्न बाध्यकारी हुने गरी स्थापित व्याकरणले हालसम्म सही मानेको शब्द र वर्ण विन्यासलाई अर्कै बनाएर लेख्नुपर्ने गरी नियम लागू गर्ने र सोही नियमका आधारमा विद्यार्थीलाई प्राथमिक कक्षासम्म बानी परेको पुरानै ठिक भाषालाई सुधारका नाममा नयाँ तरिकाबाट लेख्न लगाउन नत्र परीक्षामा अनुत्तीर्ण गराउन निर्देशन सहितको भर्खरै लागू गरिएको नयाँ अनिवार्य नेपाली विषयको पाठ्यक्रममा समावेश गरी प्रकाशित गरिएको हो ।’

रिटमा संस्कृतलाई भाषा विकासको वैज्ञानिक नियमको विपरीत भएको टिप्पणी गरिएको छ । ‘भाषा कसैको आदेशबाट होइन, क्रमिक विकासबाट स्थापित हुने हो । २०७२ फागुन २८, २९ र ३० गते काँकडभिट्टामा प्रायोजित ‘अन्तर्राष्ट्रिय नेपाली भाषा सङ्गोष्ठी’का निर्णयहरू हाल कार्यान्वयन हुनेबित्तिकै ‘राष्ट्रिय विभूति गउतम् बुद्ध’ तथा ‘रास्ट्रपति विद्या देबि भन्डारि’ लेख्नुपर्ने हुन्छ, नत्र विद्यार्थीले दण्डित हुनुपर्ने निश्चित छ’, रिटमा उल्लेख गरिएको छ । पूरानै रूपमा शुद्ध लेख्दासमेत अशुद्ध मानी अनुत्तीर्ण ठानी परिणाम आएपछि आत्महत्या गर्नुपर्ने सम्मको स्थिति नआउला भन्न सकिन्न भन्ने विषय रिटमा समेटिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?