
काठमाडौं । जनता समाजवादी पार्टी नेपालले संविधानको पुनर्लेखन माग गरेको छ । धनुषाको जनकपुरधाममा जारी जसपा नेपालको राष्ट्रिय महाधिवेशनबाट पारित भएको राजनीतिक प्रस्तावमा नेपालको संविधानलाई पुनर्लेखन गरी पहिचान र सामथ्र्यका आधारमा राज्य पुनःसंरचना गर्नुपर्ने उल्लेख छ ।
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले महाधिवेशनको बन्दसत्रमा प्रस्तुत गर्नुभएको ३१ पृष्ठ लामो राजनीतिक प्रतिवेदन सुझावसहित पारित भएको हो । पारित प्रतिवेदनमा नेपालमा ११ वटा प्रदेश सहितको पहिचानमा आधारित संघीयता आवश्यक रहेकोमा जोड दिएको छ । विगतमा संविधान पुनर्लेखनको माग गर्दै आन्दोलनसमेत गरेको जसपा नेपालले यसपटक भने संशोधन वा परिमार्जनको विकल्प पनि खुला राखेको छ । ‘संविधानलाई पुनर्लेखन वा संशोधन/परिमार्जन गरी पहिचान र सामथ्र्यका आधारमा राज्य पुनःसंरचना गर्नुपर्ने, निर्वाचन प्रणाली, न्याय प्रणाली, शासकीय स्वरूप, पहिचान, अधिकार, स्वायत्तता र स्वशासनमा आधारित संघीयता निर्माण गर्नुपर्दछ’, जसपा नेपालको पारित प्रतिवेदनमा उल्लेख छ ।
नेपालको संघीय प्रणाली पहिचान र सामथ्र्यको आधारमा नभई अत्यन्त त्रुटिपूर्ण र विकृत रूपको रहेको दाबी जसपा नेपालले गरेको छ । संविधान संशोधन गरी ११ प्रदेश कायम हुनुपर्ने अध्यक्ष यादवको प्रतिवेदनमा छ । जसपा नेपालका प्रवक्ता मनिष सुमनले संघीयताबारे संविधान जारी हुँदादेखि नै फरक मत रही आएको र महाधिवेशनले त्यसबारे थप धारणा सार्वजनिक गरेको बताउनुभयो । ‘अध्यक्षको प्रतिवेदनमा १० वटा समूह बनाएर छलफल गरेर पारित गरेका छौँ । संविधान, संघीयता, समावेशिता र राजनीतिक शक्तिहरूबारे हाम्रो धारणा सार्वजनिक गरेका छौँ’, सुमनले भन्नुभयो ।
मधेशका लागि आन्दोलन
जसपाले विभिन्न कालखण्डमा भएका आन्दोलनका उपलब्धिहरू अझै संस्थागत हुन नसकेको जिकिर गरेको छ । नेपाल सरकार र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाबीच २०६४ साल फागुन १६ गते भएको स्वायत्त मधेश प्रदेश लगायतको सहमति कार्यान्वयनका लागि निरन्तर संघर्ष जरुरी रहेको जसपा नेपालको दाबी छ । नेपालको संघीयताले मधेशलाई खण्डीकरण गरेको दाबी गर्दै जसपाले मधेशीको अग्राधिकारको स्थापना र विभेदको अन्त्यका लागि संसदीय वा गैरसंसदीय सबै खाले आन्दोलनका लागि पार्टीलाई तयार राख्ने निर्णय गरेको छ ।
पार्टी विभाजनमा राज्यशक्तिको दुरुपयोग
जसपा नेपालले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले राज्यशक्तिको दुरुपयोग गराएर जसपा विभाजन गराएको ठहर गरेको छ । महाधिवेशनबाट पारित अध्यक्षको प्रतिवेदनमा राज्यशक्ति र स्रोत साधनको दुरुपयोग गरी जसपा विभाजन गराइए पनि सडक र संसद्बाट संघर्षको यात्रालाई निरन्तर राख्नुपर्ने प्रतिवेदनमा उल्लेख छ ।
समाजवादी लोकतान्त्रिक शक्ति
जसपा नेपालले आफ्नो पार्टीको पहिचानलाई समाजवादी लोकतान्त्रिक शक्तिको रूपमा व्याख्या गराएको छ । नेपालका राजनीतिक दलहरूबारे समीक्षा गरिएको जसपा नेपालको प्रतिवेदनमा आगामी दिनमा जसपालाई ‘डेमोक्रेटिक सोसलिष्ट फोर्स’ का रूपमा निर्माण गर्नुपर्ने उल्लेख छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच