काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पदको दुरुपयोग गरी भ्रष्टाचार गरेको आरोपमा सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारका अनुसार आम्दानीको तुलनामा उनीसँग निकै अस्वाभाविक रकम देखिएको थियो । सिंगापुर र अमेरिकामा समेत रकम लुकाएको देखिएको भन्दै अख्तियारले पौडेलमाथि ६२ करोड रुपैयाँ गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोग लगाएको हो ।
त्यसो त विशेष अदालतमा विकल पौडेल विरुद्धका थप दुई मुद्दा विचाराधीन छन् । अख्तियारले उनीमाथि झुटा विवरण पेस गरी सरकारी पदमा पुगेको आरोपमा र सुरक्षण मुद्रण केन्द्रमा अनावश्यक सामान खरिद गरेको आरोपमा दायर गरेको मुद्दा विचाराधीन छन् । अख्तियारले उनी माथिको गैरकानुनको सम्पत्ति आर्जनको अनुसन्धान पनि अन्तिम चरणमा पु¥याएको छ ।
यसअघि नै पौडेललाई दुई वर्ष कैद तथा साढे २५ करोड जरिवाना
मंगलबार नै सक्युरिटी प्रिन्टिङ प्रेसको भ्रष्टाचार मुद्दामा सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल दोषी ठहर भएका थिए । एक वर्षअघि दायर मुद्दामा विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले मंगलबार पौडेलसहित चार जनालाई दोषी ठहर गरेको थियो । अन्य पाँच आरोपीले भने सफाइ पाएका थिए ।
सुरक्षण मुद्रण केन्द्रमा भ्रष्टाचार भएको भन्दै मंगलबार मात्रै विशेष अदालतले उनलाई भ्रष्टाचारी ठहर गर्दै दुई वर्ष कैद सजाय सुनाएको थियो । विशेष अदालतले उनीमाथि २५ करोड ४७ लाख बिगो असुल्नुपर्ने र त्यति नै रकम जरिवाना गर्नुपर्ने फैसला गरेको थियो ।
अख्तियारले नौ जनालाई प्रतिवादी बनाएर ३ वैशाख ०८० मा मुद्दा दायर गरेको थियो । पौडेलले सम्झौताविपरीत गुणस्तरहीन इलेक्ट्रिक ट्रान्सफर्मर खरिद गरेको प्रमाणबाट पुष्टि हुने भन्दै सम्झौताको सर्तविपरीत तोकिएको ‘कन्ट्री अफ ओरिजिन’बाट नगरी फरक मुलुकबाट खरिद गरी भुक्तानी गरेको विशेष अदालतले ठहर गरेको थियो । साथै, खरिद सम्झौताबमोजिम गर्नुपर्ने मर्मतको कार्य नगरी झुटा बिलका आधारमा भुक्तानी दिएकोसमेत पुष्टि गरेको थियो ।
सेक्युरिटी प्रिन्टिङ प्रेस स्थापना गर्दा विद्युत् आपूर्तिको सुनिश्चितताका लागि नेपाल विद्युत् प्राधिकरणसँग ११ केभी फिडर लाइन जडान गर्न अनुरोध गरी सुरक्षण मुद्रण केन्द्रबाट एक करोड ५४ लाख रुपैयाँभन्दा बढी भुक्तानी भएको थियो । यसअनुसार पूर्वाधार तयार भई लाइन जडान गर्ने काम मात्र बाँकी थियो । यस्तो अवस्थामा आवश्यकता र औचित्य नै नभएको तीन लाख लिटर क्षमताको ‘बल्क फ्युल ट्यांक सिष्टम’ खरिद तथा निर्माण गरी पौडेलले सरकारी सम्पत्तिको गैरकानुनी रूपमा हानि नोक्सानी गरेको इजलासले जनाएको छ । संक्षिप्त फैसलामा पौडेलमाथि अभियोग पुष्टि हुने आधारबारे मुख्य विषय यही उल्लेख छ ।
मुद्रण केन्द्रको प्रमुख कार्यकारी निर्देशक रही निर्णायक भूमिकामा रहेका पौडेलका कारण १९ करोड ६२ लाख रुपैयाँभन्दा बढीको नोक्सानी भएको मंगलबार इजलासको ठहर थियो । पौडेलले आफू मातहतका कर्मचारीलाई टिप्पणी तथा राय पेस गर्न लगाई टिप्पणी स्वीकृत गरी आफैँले नै सम्झौता गरेको, तर सम्झौता विपरीतका सामान स्वीकार गरी भुक्तानीसमेत गरेको भन्दै भ्रष्टाचार मुद्दामा उनीमाथि कसुर पुष्टि हुने फैसला भएको हो । पौडेललाई विशेषले दुई वर्ष कैद तथा बिगोको दामासाहीले हुन आउने रकम २५ करोड ४७ लाख रुपैयाँ जरिवाना र बिगो बराबरको रकम असुल हुने फैसला गरेको थियो ।
चार महिनादेखि हिरासतमा पौडेल
सेक्युरिटी प्रिन्टिङ प्रेस भ्रष्टाचार मुद्दामा दोषी ठहर पौडेल चार महिनादेखि नै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हिरासतमा छन् । उनीविरुद्ध विशेषमा अन्य दुई मुद्दा पनि विचाराधीन छन् । पछिल्लोपटक गत ३० वैशाखमा अख्तियारले प्रेस खरिदमै अनियमितताको आरोपमा ४० करोड रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरेको थियो । त्यसअघि सरकारी पदमै रहँदा अमेरिकाको पिआर लिएको भन्दै मुद्दा दायर भएको थियो ।
अख्तियारले उनको सम्पत्तिसमेत छानविन गरेको थियो । जसमा ५० करोड रुपैयाँभन्दा धेरै स्रोत नखुलेको सम्पत्ति भेटिएको थियो । सिंगापुरमा बैंक खाता खोलेर ठेक्काका कमिसन उनले त्यहीँ जम्मा गर्दै आएका थिए । अमेरिकामा रहेको सम्पत्तिको पनि अख्तियारले खोजी गरेको थियो । सिंगापुर र अमेरिकामा समेत रकम लुकाएको देखिएको भन्दै अख्तियारले पौडेलमाथि ६२ करोड रुपैयाँ गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोग लगाएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच