8th December | 2019 | Sunday | 8:26:15 AM

सरकार र मोर्चाबीच आज वार्ता

  POSTED ON : मंसिर ८, २०७३ (७:४४ AM)

सरकार र मोर्चाबीच आज वार्ता

हीरालाल विश्वकर्मा काठमाडौं । सरकार र संघीय मधेसी मोर्चाबीच संविधान संशोधनमा सहमति जुटाउन बुधबार वार्ता हुने भएको छ । सोमबार मुख्य तीन दलबीच भएको वार्तामा नेकपा एमाले संशोधनका विपक्षमा उभिएपछि सरकार सत्तागठबन्धन दलको बलमा संशोधन प्रक्रिया अगाडि बढाउने तयारीमा रहेको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र आन्दोलनरत संघीय गठनबन्धनबीच मोर्चाले उठाउँदै आएका मागको तत्काल सम्बोधन गर्ने, सहमतिका आधारमा संविधान संशोधन गर्ने र माओवादी केन्द्रका अध्यक्ष दाहाललाई प्रधानमन्त्रीमा निर्वाचित गराउन सघाउने विषयमा मोर्चासँग सहमति भएको थियो । एमाले विपक्षमा उभिएपछि सत्तागठबन्धन दलको सहमति लिई संविधान संशोधन गर्ने तयारीस्वरूप मोर्चासँग वार्ता गर्न लागेको जानकारी गृहमन्त्री विमलेन्द्र निधिका प्रेस सल्लाहकार रामजी दाहालले दिए । उनले सरकारका तर्फबाट गृहमन्त्री निधि र मोर्चाका नेताहरूबीच बुधबार वार्ता हुने बताए । मोर्चाले संविधान संशोधन गर्न सातपटकसम्म समय तोकिसक्दा पनि प्रमुख दल गम्भीर नभएको आरोप लगाउँदै आएको छ । उसले तत्काल समस्याको निकास नखोजिए मधेसी जनता फेरी चुप लागेर बस्न नसक्ने भन्दै तीनबुँदे सहमति कार्यान्वयनका लागि सरकारी पक्षलाई दबाब दिँदै आएको छ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधनको विषय चाँडो टुंग्याउन सरकारसँग कुरा भइरहेको बताए । ‘संविधान संशोधनको प्रस्ताव दर्ता गर्न सरकारले आज भोलि भन्दै आइरहेको छ’, उनले हिमालय टाइम्ससँग भने, ‘हामीले १५ दिनभित्र माग पूरा नभए आफ्नो बाटो लाग्छौँ भनिसकेका छौँ । सरकारले कुनैपनि बहाना नबनाई अविलम्ब संविधान संशोधन प्रस्ताव दर्ता गरोस् । संसद्मा आएपछि त्यसमा छलफल हुन्छ, आआफ्ना विचार राखिन्छ । त्यसपछि बल्ल दृष्टिकोण बनाउने काम सुरु हुन्छ ।’ यादवले आफूहरूले सीमांकन, नागरिकता, राष्ट्रियसभामा प्रतिनिधित्व, भाषा, समानुपातिक÷समावेशिताका बारेमा संशोधनका लागि प्रस्ताव ल्याउन आग्रह गर्दै आएको बताए । प्रधानमन्त्री दाहालले संविधानप्रति असन्तुष्ट दल र प्रतिपक्षी दल दुवैलाई साथमा लिएर तीनै तहको निर्वाचन सम्पन्न गराउने गरी मोर्चासँगको सहमतिका आधारमा संविधान संशोधनको प्रस्ताव अगाडि बढाउने बताएका छन् । कञ्चनजंघा हीरक महोत्सवको मंगलबार ताप्लेजुङको सुकेटारमा उद्घाटन गर्दै उनले भने, ‘संविधान निर्माणका सहयात्री दलहरूबीचको सहमतिमा संविधान संशोधनका लागि सरकारले प्रयास गरिरहेको छ, एमालेले नमानेपनि सरकार मोर्चासँग वार्ता गरी संशोधनको प्रस्ताव अघि बढाउन तयार छ ।’ प्रधानमन्त्रीले सहमतिकै आधारमा संविधान संशोधन गरी मुलुकलाई निर्वाचनको दिशामा लैजान सरकारले प्रयास गरिरहेको बताए । यता, सत्तासाझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आन्दोलनरत मधेसकेन्द्रित दलका माग पूरा गर्न संविधान संशोधनको अन्तिम तयारी भइरहेको बताएका छन् । मंगलबार पार्टी मुख्यालय सानेपामा विभिन्न दल त्यागेर आएका व्यक्तिहरूलाई कांग्रेसमा प्रवेश गराउँदै उनले संविधान कार्यान्वयनकै लागि असन्तुष्ट दलहरूको माग पूरा निर्वाचन हुने वातावरण बनाउन लागेको बताए । ‘तीनै तहको निर्वाचन गरेपछिमात्र संविधानको पूर्ण कार्यान्वयन भएर प्रजातन्त्र सही बाटोमा जानेछ’, उनले भने, ‘संविधान संशोधनका लागि कांग्रेसले अग्रसरता लिन्छ ।’

Views: 80